काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ। रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्नेछ ।
सम्झौता पत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो । यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्ने रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठको भनाइ छ ।
लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए ।
यसका साथै भारतका यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन् । फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् ।
नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन् । प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ ।
प्रतिक्रिया