काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शुक्रबार बिहानदेखि ६ घन्टासम्म काठमाडौं जिल्ला सरकारी वकिल कार्यलयमा बयान लिइएको थियो ।
बिहीबार उनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यससँगै बुटवल, काठमाडौं र चितवनका विभिन्न सहकारीको बचत रकम पनि अपचलन गरेको उनीमाथि आरोप छ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । सोही अनुरुप लामिछानेको बयानका लागि बिहीबार काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार उनलाई यहाँ ३ दिनसम्म राखिनेछ ।
उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ। प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् ।
प्रतिक्रिया