एनएलजीको हकप्रद शेयर बिक्री सूचना नपाएको शेयरधनीकाे गुनासो, नियामक निकायमाथि लगाए गम्भिर आरोप

एनएलजीको हकप्रद शेयर बिक्री सूचना नपाएको शेयरधनीकाे गुनासो, नियामक निकायमाथि लगाए गम्भिर आरोप


काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्कासन सम्बन्धी एक शेयरधनीले असन्तुष्टि जनाएका छन् । कम्पनीले गत मंगलबारदेखि जारी गरेको हकप्रद शेयर निष्कासनसम्बन्धी जानकारी नभएको भन्दै शेयरधनी रविन्द्र भट्टराईले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् ।

कम्पनीले गत मंगलबारदेखि जारी गरेकाे १० बराबर ६.२५६ को अनुपातमा हकप्रद शेयर सम्बन्धी शेयरधनीलाई जानकारी नगराएको उनको आरोप छ । भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,’कम्पनीले जारी गरेको हकप्रद शेयरको सूचना सम्बन्धित शेयर धनीले उसको इमेल वा फोनको एसएमएसमा पाउनुपर्छ । यो काम अनिवार्य गरिनुपर्छ । यो नगर्नुको कारण सिडिएस कम्पनीको कामचोर व्यवस्थापन र त्यसको सञ्चालक समिति प्रमुख जिम्मेवार छ।’

‘अर्को धितो पत्र बोर्ड यसको रमिते बनेको छ । हकप्रद शेयर निष्कासनको जानकारी शेयर धनीले नपाउँदा लाखौँ शेयरधनीले करोडौँको सम्पत्ति गुमाउँछन् । अनि अर्को तर्फ हकप्रद शेयर निष्कासन गर्ने विक्री प्रबन्धक, कम्पनीका सञ्चालक र व्यवस्थापन बढी भन्दा बढी शेयरधनीले हकप्रद नभरुन भन्ने चाहन्छन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसको कारण नभरिएको हकप्रद शेयरमा बिक्री प्रबन्धकको मिलेमतोमा अनियमितता गर्नु र मूल्य बढाबढमा बढी मूल्यमा बिक्री गर्नु रहेको छ ।’

कम्पनीले १० बराबर ६.२५६ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । अर्थात् एक सय कित्ता शेयर हुनेले ६२.५६ कित्ताको लागि आवेदन दिन पाउँछन् । कात्तिक २७ गतेसम्म शेयर स्वामित्व हुनेले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ ।

बीमा प्राधिकरणको निर्देशन अनुसार चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्‍याउन कम्पनीले हकप्रद जारी गर्न लागेको हो । यसपछि कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार पुग्नेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।