काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा जारी गर्दै विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई .३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखेकाे छ ।
केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको जनाएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन भने गरेको छैन ।
विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको नीतिमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान केन्द्रीय बैंकले गरेकाे छ ।
आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया