सेबोनमा अध्यक्ष आएपछि लय समात्दै शेयर बजार, लगातार दोस्रो दिन बढ्यो

सेबोनमा अध्यक्ष आएपछि लय समात्दै शेयर बजार, लगातार दोस्रो दिन बढ्यो

३९ अंकले बढेको बजारमा ९ अर्बको कारोबार, बैंकिङ्ग समूह ०.३२ प्रतिशतले बढ्याे


काठमाडौं – नेपाल धितोपत्र बोर्डले ११ महिनापछि नेतृत्व पाएपछि शेयर बजारमा उत्साह थपिएको छ । यही साताको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । त्यसयता निरन्तर शेयर बजार बढ्न थालेको हो ।

सोमबार बेलुका बसेको मन्त्रीपरिषद्ले बोर्ड अध्यक्षमा श्रेष्ठ नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसयता मंगलबार र आज बुधबारको कारोबारमा शेयर बजार उत्साहजनकरुपमा बढेको हो । मंगलबार ३३ अंकले बढेको शेयर बजार परिसूचक आज ३९ अंकले बढेको हो ।

यससँगै २६ सय बिन्दुको वरिपरि रुमल्लिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे २७ सय अंकको बिन्दुभन्दा माथि पुगेको छ । यसक्रममा कारोबार रकम समेत बढ्न थालेको छ ।

आज १९९ कम्पनीकाे मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ ।

यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको २४ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन फाइनान्स समूहबाहेक अन्य १२ उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको शेयर भने ०.४७ प्रतिशतले घटेको छ । बुधबार बैंकिङ्ग समूहको ०.३२ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।