काठमाडौं – कुनैबेला तीन दर्जन हाराहारीको संख्यामा रहेका वाणिज्य बैंकको संख्या निरन्तर खुम्चेर यतिबेला २० वटामा आइपुगेको छ । २०६८ भन्दा पहिले ३२ वटासम्म पुगेका वाणिज्य बैंकहरुको संख्या निरन्तर घटेर २० वटामा आइपुगेको हो । तर, यो संख्याबाट पनि अझै घट्ने सम्भावना बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंक अत्यधिक संख्यामा खुलेका बैंक तथा वित्तीय संस्था घटाउने नीतिमा लागिरहेको छ । यही नीतिअनुसार अस्तित्वमा रहेका १२ वटा बैंक विभिन्न संस्थासँग मर्ज भइसके । जसपछि बाँकी रहेका २० वटा संस्था मात्रै यतिबेला सञ्चालनमा छन् । कुनै समय आँखा चिम्लिएर इजाजत दिने केन्द्रीय बैंक हाल वाणिज्य बैंकको संख्या १० वा त्योभन्दा थोरै माथि मात्रै सीमित गर्ने नीतिमा छ । यही कारण, निरन्तर बैंकहरुलाई मर्जरमा जान तथा अन्य संस्था गाभ्नका लागि दबाब दिँदै सहज वातावरण समेत बनाउँदै आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी विनियमावली जारी गरेर नै मर्जरमा प्रोत्साहन गरिरहेको छ । केन्द्रीय बैंकले विनियमावली जारी गरेर मर्जरमा प्रोत्साहन गरेसँगै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जरमा गइरहेका छन् । राष्ट्र बैंकले मर्जर विनियमावली जारी गरेसँगै ३० भन्दा बढी पुगेका वाणिज्य बैंक यतिबेला २० मा झरिसिकेका छन् ।
केन्द्रीय बैंकको मर्जर तथा ‘एक्विजिसन’ नीति अझै रोकिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको संख्या गत भदौ मसान्तमा १०७ रहेको छ । जसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन् ।
केन्द्रीय बैंकले मर्जरमा प्रोत्साहन गर्न पूँजीकोष नै ८ अर्ब पुर्याउनै पर्ने नीति समेत अघि सारेको थियो । आफ्नो पूँजीकोष ८ अर्ब पुर्याउन धेरै बैंकले मर्जरको बाटो रोजे । फलस्वरुपः नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले २०७९ पुस २७ को एकीकृत कारोबार सुरु गरे । यस्तै, २०७९ पुस २६ गते प्रभु बैंक र सेन्चुरी बैंकबीच गाभिने सम्झौता भयो । कुमारी बैंकले एनसीसीलाई मर्ज गरेर २०७९ पुस १७ गतेबाट कारोबार सुरु गर्यो । साथै, हिमालयन र सिभिल बैंकले २०७९ फागुन १२ गते हिमालयन बैंकको नामबाट कारोबार सुरु गरेका हुन् ।
यस्तै नेपाल बंगलादेश बैंकलाई नबिलले र बैंक अफ काठमाण्डुलाई ग्लोबल आईएमई बैंकले मर्ज गरे । तर, यो श्रृङ्खला अझै रोकिने छाँट देखिएको छैन । किनकि, यतिबेला प्राइम मर्जरका लागि साथी खोज्न लागेको छ भने नबिल बैंकले समेत आफू अनुकूल साथी पाएमा मर्ज गर्ने नीति अघि सारेको छ ।
साथी खोज्दै प्राइम
‘क’ वर्गको प्राइम कमर्सियल बैंक मर्जरमा जान साथीको खोजीमा छ । कैलास विकास बैंकसहितका वित्तीय संस्थालाई प्राप्ति गरेको प्राइम बैंक फेरी अन्य बैंकसँग मर्जरमा जान साथीको खोजी गरिरहेको हो । प्राइमले आगामी मंसिर १९ गते हुने १७ औं साधारण सभामा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव अगाडि सार्ने भएको छ । अधिकांश बैंकहरु केही समयअघि नै मर्जरमा गइसकेकाले यो वर्षको साधारण सभामा मर्जरको प्रस्ताव नराख्दा प्राइम बैंकले भने मर्जरमा जान चाहेको बताएको हो ।
मर्जरको तयारी गर्दै नबिल
यता नबिल बैंकले पनि मर्जरमा जाने नीति अघि सारेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंक मर्ज गरेर २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । यसपछि पनि मर्जरका लागि साथी खोज्नेक्रम बैंकले जारी राखेको छ । बैंकले आगामी मंसिर २७ गते बिहीबार ४० औं वार्षिक साधारण सभा गर्ने भएको छ ।
सो सभामा नबिल बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न र गाभिन आवश्यक छलफलको विशेष प्रस्ताव लग्ने भएको छ । यसअनुसार यो बैंकले उपयुक्त साथी पाएमा थप बैंकको संख्या घट्ने निश्चित देखिएको छ ।
प्रतिक्रिया