राष्ट्र बैंक ‘डिजिटाइजेशन’ प्रोत्साहन गर्ने पक्षमा छ : डेपुटी गभर्नर मिश्र 

राष्ट्र बैंक ‘डिजिटाइजेशन’ प्रोत्साहन गर्ने पक्षमा छ : डेपुटी गभर्नर मिश्र 


काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपाल राष्ट्र बैंक बैंकिङ्ग क्षेत्रमा डिजिटल प्रविधिको विकासको पक्षमा रहेको बताएका छन् । काठमाडौं फिन्टेक र फिन्टेक अलाइन्स नेपालको सह–आयोजनामा भएको  ‘डिजिटल बैंकिङ्ग कन्फ्रेस २०२४’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

डेपुटी गभर्नर मिश्रले सुरुमा बैंकिङ्ग क्षेत्रमा प्रविधिको विकास हुन्छ भन्ने कल्पना नगरेको तर कोभिड यता सोचेभन्दा फरक तरिकाले डिजिटाइजेसनमा गएको बताए । उनले नेपाल राष्ट्र बैंकले वित्तीय स्थिरता र उपभोक्ता सुरक्षा प्रदान गर्दै आएको उल्लेख गरे । ‘हामीले वित्तीय क्षेत्रमा डिजिटल अवधारणाहरूको विकास गर्दै गइरहेको छौँ’ उनले भने, ‘वित्तीय सेवाको विकासमा यसरी प्रगति हुन्छ भन्ने हामीले विगतमा कल्पना समेत गरेका थिएनौँ ।’

उनले डिजिटल गतिशील प्रणालीमा संवेदनशील डेटा सुरक्षा गर्न र ग्राहकको विश्वास कायम राख्नको लागि सधैँ केन्द्रीय बैंक सजक भएर लागेको पनि उल्लेख गरे । ‘बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोगले दक्षता पुनः परिभाषित गर्न, जोखिम व्यवस्थापन सुधार गर्न, सेवाग्राहीलाई सहजीकरणमा मद्दत गर्न र विभिन्न वित्तीय समस्याहरु समाधान गर्न सहयोग पुग्छ,’ उनले भने ।

हालको नियामक भित्र रहेर पनि नवपर्वतनको क्षेत्रमा धेरै काम गर्न सकिने भएकाले बैंक तथा वित्तीय संस्थाले प्रविधिको तीव्र विकास र प्रतिस्पर्धी बजारका लागि अध्ययन नवप्रवर्तन (इनोभेसन)मा लगानी बढाउन भन्दै उनले भने, ‘‘नवप्रवर्तन क्षेत्राधिकारमा सहजता प्रदान गर्नको लागि हामी तयार छौँ ।’