असाेजमा ३ लाखले बढे मोबाइल बैंकिङ्ग प्रयाेगकर्ता, ४ खर्ब बढीकाे काराेबार

असाेजमा ३ लाखले बढे मोबाइल बैंकिङ्ग प्रयाेगकर्ता, ४ खर्ब बढीकाे काराेबार

वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँको काराेबार


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना असोजमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ३ लाख बढीले बढेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या ३ लाख १७ हजारले बढ्दै २ करोड ५५ लाख २४ हजार १ सय ८९ पुगेको छ। भदौ मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ५२ लाख ७ हजार १ सय २२ थियो ।

अघिल्लो असोजमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड २२ लाख ८४ हजार ६२२ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको सङ्ख्या ३२ लाख ३९ हजारले बढी हो । गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो ।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको सङ्ख्यामा पनि वृद्धि देखिएको छ । भदौको तुलनामा असोजमा वालेट प्रयोगकर्ताको सङ्ख्या ३ लाख ३१ हजार हजार ६०९ ले बढेको हो । भदौसम्म २ करोड ४२ लाख ६४ हजार ४८१ रहेका वालेट प्रयोगकर्ताको संख्या असोजमा २ करोड ४५ लाख ९ हजार ६ सय ९० पुगेको छ । गत वर्षको असोजमा वालेट प्रयोगकर्ताको सङ्ख्या २ करोड २७ लाख ६ हजार १६१ रहेको थियो ।

असोजमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या भने ३९ हजार ७०७ ले बढेको छ । हाल देशमा २० लाख २६ हजार ५२४ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् । असाेजमा मोबाइल बैंकिङ्गबाट ४ खर्ब १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको काराेबार भएको छ । भदौमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको काराेबार भएको थियो । वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँको काराेबार भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।