साढे २२ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७ महिना बढीको आयात धान्न पर्याप्त

साढे २२ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७ महिना बढीको आयात धान्न पर्याप्त


काठमाडौं – नेपालमा विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनका अनुसार विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।

गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा ९.४ प्रतिशतले विदेशी मुद्रा बढेको केन्द्रीय बैंकले जनाएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको थियो । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकको भनाइ छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६।९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ ।

असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।