तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको बताएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको बताएको हो ।

केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो । साथै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।