काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
खुल्लातर्फको १० किलोमिटरतर्फ इच्छुक व्यक्तिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउनसक्ने तथा कर्पोरेट तर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारहीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।
गरिमा रोड रेस कम्पिटिसन २०८१ का महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
यो प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन् ।
निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकले जनाएको छ ।
मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गईरहेको यो विकास बैंकले सो अवसरमा काठमाडौं बाहिर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।
प्रतिक्रिया