बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान

बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान


काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बिमा रकम प्रदान गरिएको छ ।

कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक विमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।

संस्थाले २५ किसानलाई सामुहिक पशु बिमा बापतको २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए । उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले चार लाख १८ हजार रकम पाएको छ । क्षतिको मुल्याङ्कनमा कम बिमा रकम पाउनेमा ३० हजारसम्म पाएका थिए ।

सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हुमागाईंले बताए ।

उनका अनुसार संस्थाको विपद् कोषमा एक करोड २० लाख बिमा रकम सञ्चित रहेको छ । संस्थाले एक लाख बिमा बराबरको वार्षिक एक हजार दुई सय किसानबाट उठाउने गरेको छ ।

संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।