सामान्य अंकले बढेकाे बजारमा ११ अर्ब ७२ करोडकाे काराेबार

सामान्य अंकले बढेकाे बजारमा ११ अर्ब ७२ करोडकाे काराेबार


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशलमव ९८ अंकले बढेर २,७५३ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर हेवाखोला हाइड्रोका लगानीर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन।

आज ९ कम्पनीको उपसूचकमा हरियाली आएको छ । विकास बैंक समूहको ०.६२ प्रतिशत, होटल तथा पर्यटन समूहको २.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।