तनावमा बैंकर : काम र मानसिक तनाव धेरै, पाउँदैनन् जस

तनावमा बैंकर : काम र मानसिक तनाव धेरै, पाउँदैनन् जस


काठमाडौं – अन्य क्षेत्रको तुलनामा बैंकिङ्ग क्षेत्रमा काम गर्ने कर्मचारीमाथिको ‘प्रेसर’ स्वभाविक रुपमा बढी हुन्छ । उनीहरुलाई माथिल्लो तहले निश्चित लक्ष्य दिएका हुन्छन् । र, सबै विभागले त्यो लक्ष्य भेट्टाउनेगरी काम गर्नुपर्ने हुन्छ ।

बैंकिङ्ग क्षेत्रले वित्तीय व्यवस्थापन, ग्राहक सेवा र आर्थिक निर्णयहरूमा भूमिका खेल्ने हुँदा बैंकरहरू बढी जिम्मेवार हुन्छन् । बैंक तथा वित्तीय संस्थामा काममा समर्पित भएका कर्मचारीको आवश्यक पर्छ । बैंकहरुले राम्रो प्रदर्शन गर्दै आर्थिक पक्षमा सबल बन्न पनि राम्रो कर्मचारी आवश्यक पर्छ । एक बैंकरले आफ्नो व्यक्तिगत समयभन्दा बढी समय आफू आबद्ध संस्थाका लागि छुट्याउनुपर्ने हुन्छ ।

बैंकरहरुलाई व्यवस्थापन र बोर्डले भिन्नै काम लगाउने हुँदा पनि बढी समय काममा खर्चिनुपर्ने हुन्छ । बैंक बोर्ड र व्यवस्थापनको निर्देशन बमोजिम बैंकको नाफा बढाउने, जोखिम व्यवस्थापन गर्ने र ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने लगायतका कामहरू बैंकरको जिम्मेवारी भित्र पर्छ । बैंकरले आफ्नो जिम्मेवारी पूरा गर्न अत्यधिक समय खर्चिनुपर्ने हुन्छ ।

एक बैंकरले बोर्ड र व्यवस्थापनको निर्देशन बमोजिमको आफ्नो जिम्मेवारी पूरा गर्न नसके बैंकर बैंकिङ्ग क्षेत्रमा नै असफल पनि बन्न पुग्छ । सोही कारण बैंकर आफूले तनाव लिएर भएपनि जिम्मेवारी पूरा गर्न अग्रसर हुन बाध्य हुन्छ । बैंकरले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा व्यक्तिगत रुपमा मात्रै नभई संस्थागत रुपमा पनि असफल बन्न पुग्छ ।

बैंक र ग्राहकबिचको सम्बन्धको जिम्मेवारी पनि बैंकर मै केन्द्रित हुन्छ । बैंकका ग्राहकको चाहनाअनुरुप बैंकरले काम गर्नुपर्ने हुन्छ भने त्यस्तो समयमा बैंकरले संस्थाको नियमहरुलाई पनि अनुशरण गर्नुपर्ने हुन्छ । बैंकरले कुनैपनि काम गर्दा, लगानी गर्दा होस् या अन्य बैंकिङ्ग सेवा प्रदान गर्दा कानूनी र नियामक मापदण्डहरू पालना गर्नुपर्ने हुन्छ ।

कुनै समयमा बैंकरले एक नियमहरूको पालन नगरी राम्रो काम गर्दा नै पनि बैंक अथवा बैंकरले जरिवाना र कानूनी समस्याहरूको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यस्तो अवस्थामा बैंकरले आफूले काम गर्दा पनि जस नपाएको महशुश समेत गर्छ । त्यसैले बैंकरले कर्जाको जोखिम, बजारको उतार–चढाव लगायतका पक्षमा ध्यान दिँदै वित्तीय जोखिमहरूको पनि ख्याल गर्नुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुले धेरै समय संस्थालाई दिनुपर्ने हुन्छ । बाहिर हेर्दा बैंकरको जागीर सहज देखिएपनि भित्र त्यस्तो नरहने बैंकिङ्ग विज्ञहरुले बताउँदै आएका छन् । बैंकरहरुले विशेषगरी महिनाको अन्त्यमा लामो समय संस्थाको काम गर्नुपर्ने हुन्छ भने आर्थिक वर्षको त्रैमासिक र वार्षिक अन्त्यतिर पनि अत्यधिक समय संस्थाको लागि दिनुपर्ने हुन्छ ।

यता बैंकरहरुले दिनानुदिन पनि तनाव नै लिएर काम गर्नुपर्ने बाध्यता छ । बैंकिङ्ग क्षेत्रमा काम गर्नेहरुलाई दिइने टार्गेटका कारण बैंकरहरुले दिनानुदिन तनावमा नै कार्य सम्पन्न गर्ने गर्दछन् । अर्थतन्त्रमा हुने परिवर्तनहरूले पनि बैंकरहरूलाई काम बढाइरहेको हुन्छ । बैंकहरुबीच भएको प्रतिस्पर्धाले पनि बैंकरलाई काममा जटिलता निम्त्याउँछ । नयाँ बैंक स्थापना हुनु, बैंकमा भित्रिने प्रविधि लगायत बैंकिङ्ग क्षेत्रमा हुने समयानुसारको परिवर्तनले बैंकरलाई काममा जटिलता सिर्जना गर्ने बुझाई छ ।

‘तनाव लिएर काम गरेपनि पाउँदैनन् जस’
बैंकमा काम गर्नेहरूले तनाव लिएर कार्यालय पुगेर दिनरात काम गर्दा पनि जस नपाउने गरेको एक बैंकर बताउँछन् । एक वाणिज्य बैंकका विभागीय प्रमुखकाअनुसार कडा परिश्रम र मानसिक दबाबको बाबजुद काम गर्दा पनि जस पाइँदैन । उनले बैंकिङ्ग क्षेत्रमा आफूले बटुलेका अनुभव साट्दै बैंकिङ्ग समाचारसँग भने, ‘अचेल त बैंकिङ्ग क्षेत्रको काम तनावपूर्ण काम हो भन्दा पनि फरक नपर्ने भएको छ, बोर्ड र म्यानेजमेन्टको आफ्नै तरिका हुन्छ त्यो अनुसार हामीले काम गर्नुपर्ने हुन्छ ।’

यता बैंकले पनि बैंकरले काम गर्दा जस नपाएको स्वीकार गरेको छ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकको जागिर नै जस नपाउने खालको जागिर भएको उल्लेख गरे । उनले स्टाफको समस्या सुपरभाइजरले बुझ्नुपर्ने बताएका छन् । ‘जति माथिको पदमा जाँदै गर्दा इमोसनल इन्टेलिजेन्स लेभल पनि माथि हुनुपर्छ । इमोसनल इन्टेलिजेन्सका कन्सेप्टहरु बढी बुझ्न म अझ इन्करेज गर्छु’ उनले भने, ‘कामको लोडदेखि डराउने भन्ने हुँदैन काम सबैले गर्छन् कसले कति गर्न सक्छ भनेर बुझेर काम लगाउनुपर्छ ।’

पूर्व गभर्नर चिरञ्जीवी नेपाल पैसाको कारोबार गर्ने क्षेत्र बैंकिङ्ग भएकाले यो क्षेत्रमा काम गर्नेहरूले जस नपाउने बताउँछन् । उनी बैंकिङ्ग क्षेत्रमा काम गर्न निकै कठिन रहेको बताउँछन् । उनले व्यवस्थित भएर यो क्षेत्रमा कार्य गर्नुपर्ने बताए ।