काठमाडौं – बजारको आर्थिक मन्दी र अर्थतन्त्रमा आएको सुस्तता लगायका कारणले बैंकरमाथि तनाव बढ्दै गइरहेको पाइएको छ । कोरोना महामारीका कारण बजारमा सुरु भएको आर्थिक सुस्तताका कारण अर्थतन्त्र चलायमान नबन्दा बैंकरमा तनाव बढ्दै गएको पाइएको हो ।
आर्थिक मन्दीको बहानामा ऋणीले ऋण तिर्न ढिलाई गरिरहेका छन् । ऋणीले लिएको साँवा ब्याज उठाउन हम्मेहम्मे पर्दा बैंकरमाथि तनाव बढ्दै गएको बैंकका कर्मचारी बताउँछन् । यसमा मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले ऋण नतिर्न चलाएको अभियानको थप प्रभाव परेकाे देखिन्छ । साे अभियानकाे प्रभाव गाउँ-गाउमा पुग्दा लघुवित्तहरुमा पूर्णरुपमा असर परेको देखिन्छ ।
यसको बाछिटा बैंकसम्म पर्ने चूनौती समेत बैंकरमा छ । ऋणीहरुले ऋण नतिरेपछि दसैं र तिहारजस्ता ठूला चाडको बिदामा पनि ऋणीको अनुहारको झल्को आउने एक बैंकरले बैंकिङ्ग समाचारसँग बताएका थिए । बैंक तथा वित्तीय संस्थाले गरेको लगानी फिर्ता नआउँदा बैंकहरुको खराब कर्जा बढ्ने क्रम उस्तै छ ।
यसले समेत बैंकबाट ऋण लिएकाहरुले ऋण चाहेर पनि तिर्न सक्ने स्थितीमा नरहेको देखिन्छ । बैंकरलाई सो ऋण असुल नगरे आफ्नो जागिर धान्न समेत मुस्किन पर्ने देखिएसँगै तनाव बढ्दै गएको हो । बजारको उतार–चढाव, ब्याजदरमा आउने परिवर्तन र आर्थिक मन्दीले बैंकरहरूको काममा विभिन्न किसिमका समस्याहरु सिर्जना हुन्छ ।
तनाव व्यवस्थापन प्रशिक्षणमा जोड दिनुपर्ने
बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुलाई तनाव व्यवस्थापन प्रशिक्षण पनि दिनुपर्ने बताउँदै आएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा प्रविधिको प्रयोग बढ्दो छ । बैंक तथा वित्तीय संस्थामा प्रविधिको प्रयोग बढ्दै जाँदा प्रविधिसँग नजिकिएर काम नगरेका बैंकरहरुले गर्ने काम अत्यधिक दबाबपूर्ण र मानसिक चुनौतीपूर्ण बन्न पुगेको छ ।
दैनिक गर्नुपर्ने कामहरु रिकभरी, वित्तीय जोखिमहरूको व्यवस्थापन लगायतका कार्यहरू पूरा गर्ने दबाबले बैंकरहरूमा तनाव सिर्जना हुने गर्छ । जसले बैंकहरुले आफ्ना कर्मचारीहरुको तनाव व्यवस्थापनमा जोड दिनुपर्ने बुझाई छ । कतिपयले व्यक्तिगत जीवन र पेशागत जीवनबीच सन्तुलन कायम राख्नका लागि बैंकरहरूले समयसमयमा बिदा लिनुपर्ने बताउँछन् ।
पूर्व गभर्नर चिरन्जीवी नेपाल बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुलाई तनाव व्यवस्थापन ‘स्ट्रेस म्यानेजमेन्ट’ प्रशिक्षण दिनुपर्ने बताउँछन् । बैंकिङ्ग क्षेत्र अन्य क्षेत्रभन्दा निकै जटिल भएको भन्दै यो क्षेत्रमा कार्यरत कर्मचारीलाई तनाव व्यवस्थापन प्रशिक्षण दिनुपर्ने उनको बुझाइ छ। ‘बैंकहरुबाट कतिपयले ऋण लगेर नतिरेका हुन्छन् त्यसले बैंकर साथिहरुमा तनाव थपेको हुन्छ,’ उनले भने, ‘कर्मचारीको तनाव हुन्छ, यता बोर्डले दिने तनाव छुट्टै हुन्छ त्यसैले पनि बैंकरलाई तनाव व्यवस्थापनमा जोड दिनुपर्छ।’
बैंक तथा वित्तीय संस्थामा काम गर्ने अथवा अन्य जुन क्षेत्रमा पनि काम गर्ने जो कोहीलाई बढी तनाव हुँदा उसले गर्ने काम खासै प्रभावकारी बन्दैन । त्यसैमा पनि बैंकिङ्ग क्षेत्रका कर्मचारीले तनावमा हुँदा आफ्नो कार्यसम्पादन राम्रोसँग सम्पादन गर्न सक्दैनन् जसको प्रभाव बैंकरलाई भन्दा पनि समग्र संस्थालाई पर्न जान्छ । बैंकरहरुको काम गर्ने क्षेत्र निकै दबाब र तनावपूर्ण हुने हुँदा पनि बैंकरहरूलाई तनाव व्यवस्थापन प्रशिक्षण आवश्यक पर्ने बुझाइ छ ।
बैंक तथा वित्तीय संस्थाले स्ट्रेस म्यानेजमेन्टको लागि भनेर १० दिन बिदा दिँदै आएका छन् । केन्द्रीय बैंकले पनि तनाव कम गर्न १० दिन नै बिदा दिन्छ । केन्द्रीय बैंकले तत्कालिन गभर्नर चिरन्जीवी नेपालको कार्यकालमा पनि तनाव व्यवस्थापनका कार्यक्रम वर्षमा २ पटक गर्ने गरेको थियो ।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) का अध्यक्ष एवम् नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल बैंकिङ्ग क्षेत्रमा कार्यरत कर्मचारीलाई तनाव व्यवस्थापनका प्रशिक्षण दिनुपर्ने बताउँछन् । उनकाअनुसार संस्थाले कर्मचारीको तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । ‘बैंकरलाई तनाव व्यवस्थापनको तालिमहरु दिनु अति आवश्यक छ,’ उनी भन्छन्, ‘स्टाफका सुपरभाइजरले स्टाफको समस्या बुझ्नुपर्छ ।’
प्रतिक्रिया