एलआईसी नेपालले पायो ‘ए प्लस’ रेटिङ

एलआईसी नेपालले पायो ‘ए प्लस’ रेटिङ



काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको रेटिङ स्तरमा सुधार भएको छ। इक्रा नेपालले कात्तिक १४ गते जारी गरेको पत्र अनुसार कम्पनीको पुरानो रेटिङ स्तर ‘ए’ बाट सुधार गरी नयाँ रेटिङ स्तर ‘ए प्लस’ कायम गरिएको हो।

हकप्रद निष्कासन एलआईसी नेपालले इक्रा एनपी आइआर ‘ए’ रेटिङ पाएको थियो। एलआईसीले पाएको रेटिङले तोकिएको समयमै वित्तीय दायित्व पूरा गर्ने सवालमा पर्याप्त सुरक्षित रहेको अवस्थालाई जनाउँछ। यस्तो शेयर निष्कासनकर्ताले एकदमै न्यून कर्जा जोखिम बहन गरेका हुन्छन्।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् १ः०.८८४५ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्दैछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।