काठमाडौं – ‘पूर्ण बहादुरको सारंगी’ले अकल्पनीय सफलता पाएपछि दिपेन्द्र के खनालको निर्देशनमा ‘हरि बहादुरको जुत्ता’ चलचित्र बन्ने भएको छ । पहिलादेखि नै बन्ने चर्चा चलेपनि यसको काम अघि बढेको थिएन । तर, पूर्ण बहादुरको सारंगीले अपार सफलता पाएपछि निर्देशक खनालले धमाधम फिल्मको काम अघि बढाएका हुन् ।
खनालद्वारा निर्देशन हुने फिल्ममा धमाधम कलाकार नियुक्तिको काम अघि बढेको छ । यसअघि नै हरिवंश आचार्य र प्रकाश सपुत अनुबन्ध भइसकेको फिल्ममा अभिनेत्रीद्वय प्रियंका कार्की र स्वस्तिमा खड्का समेत अनुबन्धित भएका छन् ।प्रियंका र स्वस्तिमाको आगमनसँगै ‘हरि बहादुरको जुत्ता’ केन्द्रीय पात्रको अनुबन्धन पुरा भएको निर्माता टिमले जानकारी दिएको छ ।
यो मल्टीस्टारर फिल्मलाई सरोज ओलीले निर्माण गर्दैछन् । प्रियंका र स्वस्तिमाले हरि बहादुरको जुत्ता अघि पनि धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । उनीहरुले ‘छक्का पन्जा’ र ‘नाईं नभन्नू ल’ शृङ्खलासहित ‘हजार जुनीसम्म’मा स्क्रिन सेयर गरिसकेका छन् । स्वस्तिमा र प्रकाशको वसन्त फ्लोरमा छ भने हरिवंशसँग पनि यी तीन स्टारले म्युजिक भिडियो खेलेका छन् ।
सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ले अहिलेसम्मकै सर्वाधिक ‘शो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाइरहेको समयमा हरि बहादुरको जुत्ता’ चलचित्र निमार्ण टिम धमाधम कलाकार अनुबन्धन कार्यमा जुटिरहेको छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको नै कथा रहेको फिल्म तत्कालै छायाङ्कनमा जाने पनि बताइएको छ । यससँगै चलचित्रको नामलाई लिएर सामाजिक सञ्जालमा राम्रै बहस चलिरहेको छ ।
नेपाली सिने जनगतमा यसअगाडि पनि चलचित्रको नामलाई लिएर बहस नचलेका भने होइनन् । चलचित्रका नाम के राख्ने, कस्ता नाम राख्दा चल्छ भन्ने विषय निकै बहसको विषय बन्ने गरेको छ । कतिपय अवस्थामा चलचित्र निर्माता निर्देशकहरुलाई चलचित्रको कथावस्तु बनेपनि चलचित्रको नाम जुराउन हम्मे–हम्मे परिरहेको जस्तो देखिन्छ ।
चलचित्रको नामलाई लिएर यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना समेत गर्न थालेका छन् । यद्यपि, यो चलचित्रको नामकरण पूर्णबहादुरको सांरगी चर्चामा आउनुभन्दा अगाडि नै तय भइरहेको थियो ।






About Us
प्रतिक्रिया