काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले ५० अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (कात्तिक २५ गते ) २१ दिन अवधिको ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले कात्तिक लागेपछि चौथो पटक खिच्न लागेको हो । यसअघि बैंकले १ गते १ खर्ब, ७ गते ४० अर्ब, २१ गते १ खर्ब रुपैयाँ तरलता खिचेको थियो ।
प्रतिक्रिया