अमेरिकी चुनावले प्रभावित बनेको सुन बजार : सातामा प्रतितोला १७ सय रुपैयाँले घट्यो

अमेरिकी चुनावले प्रभावित बनेको सुन बजार : सातामा प्रतितोला १७ सय रुपैयाँले घट्यो


काठमाडौं – यो साता विश्व आर्थिक शक्ति अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा चुनाव जित्दा सुनचाँदी बजारमा प्रभाव देखिएको छ । तिहार बिदापछि मंगलबारबाट खुलेको सुनचाँदी बजारमा यो साता अमेरिकी चुनावको प्रभाव देखिएको हो ।

समग्रमा सातामा प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य एकै दिन ४ हजार रुपैयाँसम्म घटेको थियो । मंगलबारबाट खुलेको बजारमा पहिलो दिन नै गिरावट आयो । गत कात्तिक १३ गते प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार बढेको थियो । कात्तिक १५ गते (तिहार अघि तोकिएको अन्तिम मूल्य) प्रतितोला एक लाख ७१ हजार रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा दुई हजार ९ सय रुपैयाँ कम हो । यस्तै, बुधबार १ लाख ६८ हजार ५००, बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रबार १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबारदेखि नै घट्न थालेको सुनको मूल्य बुधबार भने सामान्य बढेको थियो । बिहीबार तोलामै ४ हजारले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको थियो । तर, शुक्रबार बढेर बन्द भएसँगै सातामा समग्रमा १७ सय रुपैयाँको गिरावट आएको हो ।

अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएसँगै अन्तर्राष्ट्रियस्तरमै सुनको मूल्य घट्दा नेपालमा पनि घटेको विश्लेषण गरिएको छ । उनको जीतले अमेरिकामा मूल्य वृद्धि थप बढ्न सक्ने र यसले बण्ड र डलरको भाउ बढ्न सक्ने विश्लेषण गरिएको हो ।