एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि भर्चुअल मुद्रा बिटक्वाइनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ । ४७ औँ राष्ट्रपतिको चुनावी दौडका दौरान बिटक्वाइनको मूल्य उकालो लाग्न सुरु गरेको थियो । चुनावी नतिजा सकिएर ट्रम्प विजयी भई सक्दासम्म मूल्यले आकाश छोएको हो ।
यतिबेला एक बिटक्वाइनको मूल्य ७३ हजार ५०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । जबकि, हिजो नोभेम्बर ५ सम्ममा यसको मूल्य ६७ हजार ६०० अमेरिकी डलर आसपास थियो । डोनाल्ड ट्रम्पले जित्ने निश्चित बन्दै जाँदा बिटक्वाइनको भाउ एक दिनमा उच्च मूल्य बढेर ७३ हजार अमेरिकी डलरभन्दा माथि पुगेको हो ।
आज बिटक्वाइनको मूल्य ७४ हजार अमेरिकी डलरभन्दा माथि पुगेको थियो । तर, यो मूल्य निरन्तर कायम रहन भने सकेन। ७४ हजारबाट निरन्तर ओरालो लाग्दै साढे ७३ हजार अमेरिकी डलरमा आइपुगेको छ ।
किन बढ्दै छ बिटक्वाइनको मूल्य ?
डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित बनेमा अमेरिकालाई बिटक्वाइनको राजधानीकारुपमा विकास गर्ने उद्घोष गरेका थिए । उनले बिटक्वाइनलाई मात्रै नभएर सम्पूर्ण क्रिप्टोकरेन्सीको राजधानीकारुपमा अमेरिकालाई विकास गर्ने उद्घोष गरेका थिए ।
यससँगै एकैदिनमा ६ हजार डलरभन्दा बढीले बिटक्वाइनको मूल्य उकालो लागेको हो । जुन, अहिलेसम्मकै कीर्तिमानी मूल्य हो। यसअघि गत वर्षको मार्च महिनामा ७३ हजार ७९७ अमेरिकी डलरसम्म पुगेको थियो । यस पटक यो मूल्यलाई पनि उछिनेको हो ।
यसबाहेक ट्रम्पको चुनावी अभियानमा बिटक्वाइन प्रेमीका रुपमा चिनिने एलन मस्क समेत जोडिएका छन् । मस्कले समय–समयमा बिटक्वाइनलाई नयाँ उचाइमा पुर्याउन सहयोगी भूमिका खेल्दै आइरहेका छन् । उनले बिटक्वाइनबाट विद्युतीय सवारी टेस्ला किन्न पाउने व्यवस्था गरेसँगै अमेरिकामा यसको मूल्य बढ्न थालेको थियो । यही कारण, मस्कलाई बिटक्वाइन प्रेमी समेत भनिन्छ ।
उनै मस्क ट्रम्पको चुनावी दौडमा जोडिएपछि भावी दिनमा बिटक्वाइनले थप उचाई लिने अपेक्षा बिटक्वाइनमा लगानी गर्नेहरूको थियो । यस्तै, ट्रम्प राष्ट्रपतिमा निर्वाचित बनेसँगै मस्कलाई अर्थमन्त्री वा आर्थिक सल्लाहकारको भूमिका दिने हल्ला समेत छ । यदी मस्क अर्थमन्त्री वा राष्ट्रपतिको आर्थिक सल्लाहकार बनेमा समेत बिटक्वाइनको मूल्य थप बढ्ने अपेक्षा अमेरिकीहरूको छ। यही कारण, बिटक्वाइन निरन्तर बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो ।
प्रतिक्रिया