एजेन्सी – रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति निर्वाचित बनेका छन् । सम्पन्न ४७औं राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार कमला ह्यारिसलाई हराउँदै ट्रम्प विजयी बनेका हुन् ।
यसअघि उनले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित बनेका थिए । त्यसपछि सन् २०२० मा दोस्रोपटक निर्वाचनमा डेमोक्र्याटका उम्मेद्वार जोइ बाइडेनसँग पराजित बनेका थिए । त्ययसक्रममा उनले धाँदली भएको भन्दै क्यापिटल हिल्समा असफल आक्रमणको प्रयास गराएका थिए ।
त्यसयता, सन् २०२४ को चुनावमा तेस्रो पटक अमेरिकी राष्ट्रपतिको दौडमा रहेका ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित बनेका हुन् । उनले अमेरिकाको कूल ५३८ इलेक्ट्रोल भोटमध्ये २७० इलेक्ट्रोल भोट ल्याउँदै अमेरिकाको ४७औं राष्ट्रपतिकारुपमा निर्वाचित बनेका हुन् । ट्रम्प अमेरिकाको राष्ट्रपतिमा आएपछि विश्वको भू–राजनीति उथलपुथल हुने आँकलन गरिएको छ ।
ट्रम्पले अमेरिकालाई फेरी विश्वको शक्तिशाली बनाउने नारा लगाउँदै आएका छन् । मध्यपूर्वमा इजरायललाई समर्थन गर्नुबाहेक अन्य आफ्ना साझेदारको सुरक्षाको जिम्मेवारी नलिने उनको घोषणा थियो । यसअघि, सन् २०१६ मा जित्दा समेत उनले दक्षिण कोरिया, जापान र ताइवान जस्ता मुलुकको रक्षाको जिम्मेवारी आफ्नो नभएको उनको भनाई थियो ।
प्रतिक्रिया