बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्न नपर्ने नियम लागू गर्दै सरकार

बैंक तथा वित्तीय संस्थामा छुट्टै ‘केवाईसी’ भर्न नपर्ने नियम लागू गर्दै सरकार


काठमाडौं – अब बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्दा ग्राहक सम्बन्धी विस्तृत विवरण (केवाईसी) छुट्टै भर्न नपर्ने नियम बन्ने भएकाे छ । सरकारले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई नै बैंक तथा वित्तीय संस्थाले लिन सक्ने गरी व्यवस्था गर्ने भएकाे हाे ।

‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा यस्तो व्यवस्था गर्न लागिएको हो । उक्त नियमावलीको नियम ३ मा ‘विद्युतीय माध्यमबाट ग्राहक पहिचान गर्न सक्ने’ व्यवस्था थपिएको हो ।

उक्त व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाले ग्राहकको व्यक्तिगत विवरण नेपाल सरकारको डिजिटल अभिलेखबाट तानेर हेर्न सक्नेछन् । त्यसका लागि व्यक्तिले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्नेछ ।

अहिले बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने व्यक्तिले हरेक खातापिच्छे केवाईसी फारम भर्नुपर्छ ।