नवौं संस्करणको सिंगापुर फिनटेक फेस्टिभल भोलिदेखि, विश्वभरका ९०० भन्दा बढी वक्ता सहभागी हुँदै

नवौं संस्करणको सिंगापुर फिनटेक फेस्टिभल भोलिदेखि, विश्वभरका ९०० भन्दा बढी वक्ता सहभागी हुँदै


काठमाडौं – आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम प्रविधिमा केन्द्रीत रहने नवौं संस्करणको सिंगापुर फिनटेक फेस्टिभल (एसएफएफ) भोली (बुधबार)देखि सुरु हुने भएको छ । ८ नोभेम्बरसम्म चल्ने ३ दिने फिनटेक फेस्टिभल भोलिदेखि सुरु हुने भएको हो ।

यो फिनफेस्ट पछिल्लो समय विश्वले हासिल गरिरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा र क्वान्टम प्रविधिमा केन्द्रीत हुनेछ। आर्थिक र वित्तीय क्षेत्रमा एआई र क्वान्टम प्रविधिको आवश्यक्ताका विषयमा फेस्टिभल केन्द्रीत हुने आयोजकले जनाएको छ ।

यो फेस्टिभलमा विश्वभरका ९०० भन्दा बढी वक्ता हुनेछन् भने ४०० भन्दा बढी सेसन हुनेछन् । यी सेसन मुख्यगरी ६ वटा विषयमा केन्द्रीत हुनेछन् । फेस्टिभलमा ‘रोडम्याप फर एआई एण्ड क्वान्टम’, ‘ब्लुप्रिन्ट फर डिजिटल एसेट्स’, ‘नेक्टजेन ट्रान्जेक्सन्स’ जस्ता सेसन हुनेछन् ।

यस्तै, ‘सस्टेनेबिलिटी इन एक्सन’, ‘ब्रिजिङ द फाइनान्सियल इन्क्लुजन ग्याप’ र ‘ट्यालेन्ट अफ टुमारो’ नामक गरी कूल ६ वटा विषयमा विभिन्न सेसन चल्नेछन् ।

यसअघि सन् २०२३ को आठौं सिंगापुर फिनटेक फेस्टिभलमा विश्वभरका ६६ हजारभन्दा बढी सहभागी बनेका थिए । सो फेस्टिभलमा विश्वभकार १५० भन्दा बढी मुलुकबाट प्रविधि क्षेत्रमा रुची राख्नेहरुको सहभागिता भएको आयोजकले जनाएको छ । जसमा ९७० जना वक्ता सहभागि थिए ।

यस्तै विभिन्न देशका केन्द्रीय बैंकका २४ सयभन्दा बढी अधिकारीले समेत सहभागिता जनाएको एसियन बिजनेश रिभ्यूले उल्लेख गरेको छ ।