क्रिकेटमा एकमार्थि अर्को उपलब्धि हात पार्दै नेपाल, इङल्याण्डपछि नेपालसँग हार्यो अष्ट्रेलिया

क्रिकेटमा एकमार्थि अर्को उपलब्धि हात पार्दै नेपाल, इङल्याण्डपछि नेपालसँग हार्यो अष्ट्रेलिया


काठमाडौं – नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए । त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।

यसैगरी, लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२/१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए । यस्तै आज दिउँसो १ ४५ बजे नेपालले सेमिफाइनल प्रवेशका लागि श्रीलंका खेल्नेछ ।