पर्यटन क्षेत्रमा लगानी बढाउन गैरआवासीय नेपालीलाई पर्यटनमन्त्री पाण्डेको आह्वान

पर्यटन क्षेत्रमा लगानी बढाउन गैरआवासीय नेपालीलाई पर्यटनमन्त्री पाण्डेको आह्वान


काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरु संशोधनको गृहकार्य भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ‘ग्लोबल कन्केल्भ २०२४’ लाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लागानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । ‘पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौं । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईहरुले सहयोग गर्नुहोस्,’ मन्त्री पाण्डेले भने, ‘लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ ।’

साथै उनले अगाडि संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामियक मस्यौदा तयार पारेको समेत उनले जानकारी गराए । नेपाल विविधतापूर्ण संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । ‘आकाश सुरक्षित छ, सूचारु छ भन्ने देखाउनुछ । इयुले असुरक्षित भनेको छ,’ उनले भने, ‘सुरक्षित, गतिशील, सूचारु आकाश देखाउन सक्यौं भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन् ।’