१९ लाख ऋणीले चलाउँछन् साढे ५ करोड खातावालाको खर्बौ बचत

१९ लाख ऋणीले चलाउँछन् साढे ५ करोड खातावालाको खर्बौ बचत


काठमाडौं – बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको कूल नाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)का लागि छुट्याउनुपर्ने हुन्छ । कूल नाफाको १ प्रतिशत सीएसआरको ५ प्रतिशत रकम वित्तीय चेतना फैलाउन बैंक तथा वित्तीय संस्थाले खर्च गर्नुपर्छ । तर, नेपाल राष्ट्र बैंककै तथ्यांकअनुसार वित्तीय चेतनाका लागि खर्चिएको त्यस्तो रकमले शतप्रतिशत प्रतिफल भने दिन नसकेको देखिन्छ ।

यो तथ्यांकलाई बैंकहरुमा खुलेका खाता संख्या र ऋण संख्याले नै देखाउँछ । नेपाल राष्ट्र बैंकअनुसार ५ करोड ६२ लाखभन्दा धेरै खाता संख्या छन् । तर, कर्जाका लागि खोलिएका खाता संख्या २० लाख पनि पुग्न सकेका छैनन् । तथ्यांकअनुसार नेपालमा कूल १९ लाख वटा मात्रै ऋण खाता छन् । जुन, बचत खाताको तुलनामा ५ करोड ४३ लाखले न्यून छ ।

यो तथ्यांकले करोडौं नेपालीको बचतलाई ऋणकारुपमा सिमित व्यक्तीहरुले मात्रै प्रयोग गरेको देखाउँछ । अर्थात ५ करोड ६२ लाखभन्दा बढी खाता संख्यामा जम्मा भएको खर्बौ रुपैयाँ १९ लाख हाराहारीले मात्रै प्रयोग गर्दै आइरहेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार आजको मितिसम्म ५२ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो कर्जा १९ लाख हाराहारीको संख्यामा रहेका ऋणीको खातामा जान्छ । साढे ५ करोडभन्दा बढी खातावालाहरुले बैंक तथा वित्तीय संस्थामा कूल ६६ खर्ब ३७ अर्ब रुपैयाँ जम्मा गरेका छन् । यही रकम १९ लाख खातावालाको वरिपरि घुमेको तथ्यांकले देखाउँछ । ठूला व्यवसायीक घरानाको वरिपरि मात्रै देशको ठूलो ऋणको मात्रा घुम्ने तथ्य पहिलादेखि नै उजागर हुँदै आएको थियो ।

साढे ५ करोडभन्दा बढी खातावालालाई बैंक पैसा जम्मा गर्ने मात्रै नभएर व्यवसायीक प्रयोजनका लागि कर्जा लिन समेत भन्ने जानकारी नरहेको हुन सक्छ । यस्तै जानकारी रहेपनि कर्जा लिने प्रक्रिया र यसका व्यवस्थाबारे जानकारी नभएको हुन सक्छ । जसकारण, सिमित खातावालाहरुले नै दोहोरो र तेहोरोसम्म ऋण लिएका छन् ।

१९ लाखले चलाउँछन् साढे ५ करोड जनाको बचत
नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुमा ऋण खाता भन्दा बढी बचतखाता भएको देखाएको छ । केन्द्रीय बैंककाअनुसार हालसम्म १८ लाख ९९ हजार ४८३ वटा ऋण खाता छ । जबकी बैंक वित्तीय संस्थाहरुमा ५ करोड ६२ लाख ५५ हजार ३०५ बचत खाता रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १८ लाख ४८ हजार ७०० ऋण खाता थियो भने सो समयमा ५ करोड १७ लाख ३८ हजार ३१ बचत खाता रहेका थिए ।

बैंकमा बचत खाता भन्दा थोरै ऋण खाता हुँदा बैंकको नाफा र स्थिरतामा प्रभाव पर्छ । बैंकमा धेरै बचत हुने र ऋण लगानी नहुँदा बैंकको नाफामा प्रभाव पर्छ । यसले तत्कालभन्दा दीर्घकालमा वित्तीय संकट निम्त्याउन सक्ने बुझाई छ । बैंक वित्तीय संस्थामा बचत खाता भन्दा कम ऋण खाता हुँदा तरलता व्यवस्थापनमा समस्या सिर्जना हुन्छ । बैंक तथा वित्तीय संस्थामा बचत जम्मा हुने तर लगानी नहुँदा तरलता व्यवस्थापनमा असहज हुन्छ ।

किन लिँदैनन् ऋण ?
बैंक तथा वित्तीय संस्थामामा बचत थुप्रिए पनि ऋण लानेको भने कमी नै देखिन्छन् । पूर्व बैंकर देवेन्द्र प्रताप शाह बचतकर्ता र ऋण लिने ऋणाीको संख्या कहिलै पनि बराबर नहुने बताउँछन् । यस्तै, बैंक वित्तीय संस्थामा ऋणी खाताभन्दा बढी बचत खाता हुनु सामान्य भएको उनको भनाई छ । पछिल्लो चरण बैंक तथा वित्तीय संस्थामा तरलता प्रर्याप्त हुँदापनि कर्जा प्रवाह नभएको भन्दै कर्जा प्रवाहमा घरजग्गा कारोबारले ठुलो प्रभाव पारेको उनले बताए । ‘नेपालको अर्थतन्त्र घरजग्गामा नै केन्द्रीत छ, जग्गाको भ्यालु बढ्दै गयो भने सोहि कोल्याट्रलमा ऋण पनि धेरै जान्छ’ बैंकिङ्ग समाचारसँग उनले भने । उनले देशमा छाएको आर्थिक मन्दीका कारण पनि बैंकबाट कर्जा लिएर विजनेश गर्न नसक्ने स्थिति समेत सिर्जना भएको भन्दै कर्जा लगानी कम भएको उल्लेख गरे ।

जनसंख्याभन्दा दोब्बर बैंक खाता पछिल्लो चरण बैंक खाता खोल्नेको संख्या बढ्दो क्रममा देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २०८०/८१ मा नै ४५ लाखले खाता संख्या बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक खाताको संख्या ५ करोड १७ लाख ३८ हजार थियो । बैंकमा खाता खोल्नेहरुको संख्या नेपालको कूल जनसंख्याभन्दा झण्डै दोब्बर पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको हो । जबकी, पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ ।