राजनीतिक अस्थिरतामा रुमल्लिएको साताको शेयर, ४ दिन बजार घट्दा परिसूचकमा ७० अंकको गिरावट

राजनीतिक अस्थिरतामा रुमल्लिएको साताको शेयर, ४ दिन बजार घट्दा परिसूचकमा ७० अंकको गिरावट


काठमाडौं – यो साताको शेयर बजारमा अघिल्लो साताको उत्साहपूर्ण कायम रहन सकेन । अघिल्लो साता दसैं बिदापछि खुलेको बजारमा कारोबार रकम र शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा र कारोबार रकममा उत्साहपूर्ण वृद्धि देखिएको थियो । तर, यो साता बजारमा उत्साह टिक्न सकेन ।

 यो साता पाँच दिन नै कारोबार भएको बजारमा एकदिन बाहेक अन्य दिन बजार बढ्न सकेन । परिमाण स्वरूप नेप्से परिसूचकमा ७० दशमलव ७७ अंकको गिरावट देखियो ।  यो साता बजारमा देखिएको गिरावटको मुख्य आधार राजनीतिक घटनाक्रमले लगानीकर्तामा निराशा छाउनुलाई मान्न सकिन्छ । गत साताको शुक्रबार सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्नुको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको देखिन्छ । फलस्वरूप अघिल्लो साताको तीन कारोबारको दिन नै बढेको बजारमा यो साता गिरावट आएको हो ।

आइतबार ४७ दशमलव ४४ अंकले, सोमबार ५७ दशमलव ९९ अंकले, बुधबार २० दशमलव ४१ , बिहीबार  १८ दशमलव २५ अंकले बजार घटेको  थियो । साताको तेस्रो कारोबारको दिन मंगलबार भने बजारमा २५ दशमलव ८८ अंकको वृद्धि देखिएको थियो। समग्रमा यो साता २९ अर्ब ९३ करोडको कारोबार भएको छ । 

कुन दिन कति कारोबार ?

आइतबार–  ८ अर्ब १८ करोड रुपैयाँ

सोमबार– ५ अर्ब ९० करोड रुपैयाँ

मंगलबार–  ४ अर्ब १७ करोड रुपैयाँ

बुधबार– ६ अर्ब २७ करोड रुपैयाँ

बिहीबार– ५ अर्ब ४१ करोड रुपैयाँ