दुई महिनामा सवा लाख बढी ऋणीले लिए सहुलियतपूर्ण कर्जा, सबैभन्दा धेरै कृषिमा

'दोस्रो सर्वाधिक धेरै सहुलियतपूर्ण कर्जा महिला उद्यमशीलतातर्फ'


काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने साढे १८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ। केन्द्रीय बैंककाे तथ्यांकअनुसार भदौसम्म क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट विभिन्न क्षेत्रमा प्रवाह हुने १ खर्ब ८५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो ।

भदौसम्म सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको केन्द्रीय बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाबाट कुल १ लाख १९ हजार ४४७ ऋणीका लागि उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो ।

सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ स्वीकृत भएको छ। यो शीर्षकमा ४५ हजार ७४७ ऋणीका लागि १ खर्ब ९ अर्ब ४० करोड १४ लाख रुपैयाँ स्वीकृत भएको हो । जसमा बिना धितो १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ र धितोमा १ खर्ब ७ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

यसैगरी समीक्षा अवधिमा महिला उद्यमशीलतातर्फ ७१ हजार ७२८ ऋणीका लागि ७३ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंककाे तथ्यांकले देखाउँछ।