तिहारमा स्मारिका सिक्का र मेडालियन कतिमा किन्न पाइन्छ ? यस्ताे छ केन्द्रीय बैंकद्वारा निर्धारित मूल्य (सूचीसहित)


काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारका लागि तिहारका लागि बिक्री गरिने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले एक सूचना प्रकाशित गरी तिहारका लागि बिक्री हुने स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरिएको जनाएको हो ।

महाशाखाद्वारा तिहारका लागि निर्धारित नयाँ मूल्यअनुसारल १० ग्राम लक्ष्मी मेडालिनयन, गणेश मेडालिनयन, गज लक्ष्मी मेडालियनकाे मूल्य २२ सय रहेकाे छ । यसअगाडि यी मेडालियनकाे मूल्य २ हजार रूपैयाँ थियाे ।

यस्तै, १५ ग्राम टक्कसार यान्त्रिकरणकाे मूल्य ४१ सयबाट ४४ सय, ३१ दशमलव १०३ ग्राम राज्यराेहण १ ओजेडको ७ हजार ९ सय ५० बाट ८ हजार ५ सय ७५ पुगेकाे छ । यसैगरी २५ ग्राम गाई मेडालियनको ५ हजारबाट ५५ सय रूपैयाँ, १० ग्राम गाई मेडालियनको २ हजारबाट २२ सय रूपैयाँ पुगेकाे छ।

महाशाखाले २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा कात्तिक १३ गते मंगलबार १ दिनमात्र बिक्री खुला गर्नेछ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।

यसैगरी कात्तिक ११ गतेदेखि कात्तिक १४ गतेसम्म चाँदीका स्मारिका तथा मेडालियन बिक्री खुला गरिने महाशाखाले जनाएको छ। प्रतिव्यक्ति बढीमा ५ थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम) किन्न पाइनेछ। बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्म बिक्री खुला गरिने महाशाखाले जनाएको छ।

सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। सुन असर्फी तथा चाँदीको सिक्का खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था महाशाखाले गरेको छ। सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजेपछि मात्र महाशाखाबाट बिक्री कार्य सुरु हुनेछ।