बैंकिङ्ग प्रणालीबाट ४० अर्ब खिच्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार (आज) ४० अर्बको निक्षेप संकल गर्ने भएको छ। गत १ गते १ खर्ब निक्षेप संकलन गरेको बैंकले आज पुनः ४० अर्बको निक्षेप संकलन गर्ने भएको हो।

वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बुधबार केन्द्रीय बैंकले ७ दिन अवधिको ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो।

यसका लागि आज ३ बजे बोलकबोल गरिने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ।