केन्द्रीय बैंकको नियम उल्लङ्घन गर्दै विकास बैंक र फाइनान्स कम्पनी

केन्द्रीय बैंकको नियम उल्लङ्घन गर्दै विकास बैंक र फाइनान्स कम्पनी


काठमाडौं – नेपाल राष्ट्र बैंकलाई विभिन्न विकास बैंकहरुले अटेरी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकको नियमलाई उल्लङ्घन गर्दै उनीहरुको राष्ट्र बैंकलाई अटेरी गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा नै तीनवटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंकको नियम उल्लङ्घन गर्नेहरुमा विकास बैंकहरु सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीहरु जानकी, गोर्खाज् र प्रोग्रेसिभ रहेका छन् । केन्द्रीय बैंकले संस्थाका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु र प्रमुख कार्यकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा यस बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा– नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा राष्ट्र बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले सचेत गराएको हो ।

त्यस्तै,केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारण सभासमेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले सालपा विकास बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ । सो अवधिमा राष्ट्र बैंकले व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेको भन्दै सालपाका सञ्चालक समिति र सीईओलाई सचेत गराएको हो ।

साथै, नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरी उक्त नियामकीय व्यवस्था उल्लंघन गरेको देखिएकोले मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

४ फाइनान्स कम्पनीका अध्यक्ष र सीईओ कारबाहीमा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा ४ वटा फाइनान्स कम्पनीलाई काराबाही गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण यस बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले जानकी फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरु वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरित हुनेगरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष/सञ्चालक संस्थाको ऋणी/ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको पाइएको । त्यस्तै, तत्कालीन अध्यक्ष/सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा निगरानी कमजोर रहेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम गोर्खाज् फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले प्रोगेसिभ फाइनान्सको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुग भएकोले रिलायन्स फाइनान्सलाई आर्थिक जरिबाना लागाएको छ । संस्थाले मिति २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.व. मा पहिलो पटक कायम नगरेको हुँदा ११ हजार २२७.६५ रुपैयाँ नगद जरिवाना गराएको हो ।