इन्टरनेटबिनाको विद्युतीय भुक्तानी सुविधा ल्याउन राष्ट्र बैंकको पहल

इन्टरनेटबिनाको विद्युतीय भुक्तानी सुविधा ल्याउन राष्ट्र बैंकको पहल


काठमाडाैं – इन्टरनेटबिना नै मोबाइलबाटै बैंकिङ्ग कारोबार गर्न सकिने सेवाका लागि नेपाल दूरसञ्चार कम्पनीलाई आग्रह गरिने भएको छ । नेपाल राष्ट्र बैंकले अनस्ट्रक्चर्ड सप्लिमेन्ट्री सर्भिस डेटा (यूएसएसडी) सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा यस किसिमको भुक्तानी उपयुक्त हुने निष्कर्ष निकालेको हो।

सन् २०२१ देखि सञ्चालनमा आएको नमस्ते पेले यस किसिमको सेवा दिँदै आए पनि सहज र सहुलियत नभएका कारण ठूलो क्षेत्र समेट्न नसकेको भन्दै राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले सेवा सुविधामा थप गर्न सुझाव दिएको हो ।

प्रतिवेदनले इन्टरनेटबिना नै भुक्तानी गर्न मिल्ने गरी सहुलियत दरमा यूएसएसडी पेमेन्ट कार्यान्वयनमा ल्याउन सकिने उल्लेख गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकको लगानीमा सञ्चालित नमस्ते पेबाट भुक्तानी महंगो र झन्झटिलो हुँदा सेवा प्रभावकारी नभएको भन्दै कम लागतमा भुक्तानी गर्न सकिने व्यवस्था गर्न भनेको छ ।

बढ्दो मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सँगै नेपाल साइबर आक्रमणको खतरा पनि बढ्दै जाँदा यस किसिमको भुक्तानीले लाभग्राहीको वित्तीय सुरक्षामा मद्दत पुर्‍याउने अध्ययनको निष्कर्ष छ । नेपालका ७३ प्रतिशत घरपरिवारले सामान्य मोबाइल फोन प्रयोग गर्ने र ७२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्दै आएका छन् । कुल ६६ लाख ६६ हजार घरपरिवारले स्मार्ट फोनसँगै सामान्य फोन पनि प्रयोग गरिरहेकाले अफलाइनमा आधारित भुक्तानी सेवाको सम्भावना बढी रहेको अध्ययनले देखाएको छ ।