नबिलमा एनबी बैंक गाभ्ने विषयमा सर्वोच्चले बोलाएको छलफल बुधबार हुने

नबिलमा एनबी बैंक गाभ्ने विषयमा सर्वोच्चले बोलाएको छलफल बुधबार हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल बंगलादेश बैंक नबिल बैंकमा गाभिने प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गर्दै मंगलबारका लागि बोलाएको छलफल स्थगित भएको छ । सर्वोच्चले मंगलबारका लागि दुबै पक्षलाई छलफलमा बोलाएको भएपनि म्याद तामेलिका कारण बुधबारलाई सारेको हो ।

सर्वोच्चले यसभन्दा अघिको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णयका लागि रिटका पक्ष विपक्षलाई छलफलका लागि बोलाएको थियो । तर, म्याद तामेलिका कारण मंगलबार छलफल नभएको सर्वोच्चका प्रबक्ता बिमल पौडेलले जानकारी दिए ।

“मंगलबार हुने भनेको छलफल भएन,” उनले भने, “नबिल बैंक र एनबी बैंकको रिट सम्बन्धीको छलफल बुधबार हुने देखिन्छ ।”

सर्वोच्चले बैंशाख २५ गते गाभ्ने तथा गाभिने प्रक्रिया तत्कालका लागि रोक्नु भन्दै रिट निवेदकका पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । त्यसका साथै जेठ ३ गते मंगलबारका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

मंगलबार रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको भए पनि छलफल हुन नसकेको हो । योसँगै एनबी बैंक नबिल बैंकमा गाभिने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको भए पनि सर्वोच्च अदालतको इन्ट्रीसँगै गाभिने प्रक्रिया अघि नबढाउन भनि दिएको आदेशले अब के हुन्छ भन्ने प्रश्न उब्जाएको छ ।

बुधबार हुने छलफले अन्तरिक आदेशलाई निरन्तरता दिएको खण्डमा गाभ्ने गाभिने प्रक्रिया नै रोकिने छ । तर अन्तरिम आदेशलाई निरन्तरता नदिएको खण्डमा पुन प्रक्रिया अघि बढाउने बाटो खुल्नेछ । दुबै संस्था नबिल बैंक र एनबी बैंकले जेठ ७ गते विलय प्रकृयालाई पारित गर्नका लागि विशेष साधारणसभा बोलाएका छन् ।

नबिल बैंकमा गाभ्ने क्रममा बंगलादेश बैंकका कर्मचारीलाई नबिलमा समायोजन गर्ने सन्दर्भमा समान ब्यबहार नभएको भन्दै कर्मचारीहरुले आन्दोलन गरेका थिए । उक्त आन्दोलनले पनि कर्मचारीको माग भने सम्बोधन गरेको थिएन । कर्मचारीको माग सम्बोधन नगरी कर्मचारीलाई दवाव दिएर समायोजन गर्न खोजिएको अवस्थामा गाभ्ने प्रक्रिया तत्कालका लागि रोक्न भन्दै अदालतले अल्पकालीन आदेश दिएसँगै एनबी बैंकका कर्मचारीको मनोबल पनि बलियो बनेको छ ।