राजनीतिक घटनाक्रमलाई लिएर हच्किए लगानीकर्ता, ४६ अंकले घटेको बजारमा ८ अर्बको कारोबार

राजनीतिक घटनाक्रमलाई लिएर हच्किए लगानीकर्ता, ४६ अंकले घटेको बजारमा ८ अर्बको कारोबार


काठमाडौं – दसैंयता लगातार बढ्दै लगानीकर्तामा उत्साह देखाएको शेयर बजारमा आज (आइतबार) करेक्सन देखिएको छ । गत साता तीन दिन कारोबार हुँदा तीनै दिन बढेर उकालो यात्रा तय गरेको बजारमा आज करेक्सन देखिएको हो ।

आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से ४७.४४ अंकले घटेर २६ सय ९७ दशमलव ९१ को बिन्दुमा रोकिएको छ ।

आज १८ कम्पनी फाइदामा जाँदा २२६ कम्पनी घाटामा गएका छन् । आज दिनभर विभिन्न कम्पनीहरूको २० लाख ८६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुड विल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको २६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

बजार खस्कनुको मुख्य कारण राजनीतिक घटनाक्रमलाई मान्न सकिन्छ । उकालो यात्रा तय गरिरहेको नेप्सेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेसँगै गिरावट देखिएको हो।