सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि


काठमाडाैं – व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । 

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो । 

सुन प्रारम्भिक एसियाली व्यापारमा शुक्रबार दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो । इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो । 

केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।