एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग

एभरेष्ट बैंकद्वारा चाइल्ड हेल्थ अस्पताललाई एक करोड सहयोग


काठमाडौं – एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई एक करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग गरेको हो ।

एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा अस्पतालका अध्यक्ष प्रा . डा. भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे ।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरूले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । उक्त अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्।

साथै, बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा कदर पत्रसमेत वितरण गरिएको छ । करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू र १६७ एटीएम मेशीन रहेका छन् ।