राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ


काठमाडौं – राष्ट्रिय वाणिज्य किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत उक्त प्रोडक्ट शभारम्भ गरेको हो ।

१० लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ । कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुने बैंकले जनाएको छ ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०. ५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकता अनुसार घररजग्गा समेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिने छ भने कर्जाको बिमा गरिने बैंकले जनाएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट किसान सरल कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।