१.४ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह १. ४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१­/ ८२ को भदौ महिनासम्मको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ मा आधारित तथ्यांकले साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १.४ प्रतिशतले बढेको देखाएको हो ।

भदौ महिनासम्म निजी क्षेत्रमा कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड अर्थात् ०.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।

त्यस्तै, भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ ।गत वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.० प्रतिशत र ३७.० प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.५ प्रतिशतले, विकास बैंकहरूका १.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३. ० प्रतिशतले बढेको छ ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १३.२ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ । ६६. २ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ ।

दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १. २ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १०.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.० प्रतिशतले, हायर पर्चेज कर्जा ०.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.२ प्रतिशतले र नगद प्रवाह कर्जा १. १ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।