काठमाडौं – चालु आर्थिक वर्षको दुई महिनामा साढे २ खर्ब बढीको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले
आज सार्वजनिक गरेको देशको वित्तीय अवस्थाको विवरणले रेमिट्यान्समा १५ प्रतिशतको वृद्धि देखाएको हो ।
तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/ ८२ को भदौसम्म २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।



About Us
प्रतिक्रिया