अमेरिकालाई इजरायलको आश्वासनः इरानको आणविक वा तेल सुविधामा आक्रमण गर्दैनौँ

अमेरिकालाई इजरायलको आश्वासनः इरानको आणविक वा तेल सुविधामा आक्रमण गर्दैनौँ


एजेन्सी – इजरायलले ह्वाइट हाउसलाई इरानमा नियोजित जवाबी आक्रमणका क्रममा त्यहाँको आणविक वा तेल सुविधालाई लक्षित नगर्ने आश्वासन दिएको अमेरिकी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

गत अक्टोबर १ मा इरानले इजयायलमा गरेको क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा इजरायलले प्रतिआक्रमण गर्ने वाचा गरेको हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ह्वाइट हाउसलाई इजरायली प्रतिआक्रमणले सैन्य साइटहरूलाई मात्र लक्षित गर्ने आश्वासन दिएको अमेरिकी स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले जनाएको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बिडेन र नेतान्याहूबीच भएको फोनवार्ता साथै अमेरिकी रक्षा सचिव लोयड अस्टिन र उहाँका इजरायली समकक्षी योव ग्यालान्ट बीचको कुराकानीमा यो प्रतिज्ञा भएको एक अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको थियो ।

क्षेत्रीय युद्धको थप विस्तारबाट बच्न र विश्वव्यापी ऊर्जाको मूल्यवृद्धिको चिन्ताको बीचमा राष्ट्रपति बाइडेनले इजरायललाई इरानको आणविक वा तेल सुविधाहरूमा आक्रमण नगर्न चेतावनी दिएका हुन् ।