काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै ठगीका नयाँ स्वरूपहरू बढिरहेकाले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले अनुरोध गरेको छ। नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गको विकाससँगै ठगीका नयाँ स्वरूप पनि बढिरहेको जनाएको छ ।
पछिल्लो समयमा अनलाइन बैंकिङ्गको विकाससँगै ठगीका नयाँनयाँ स्वरुपहरु समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक रहेको राष्ट्र बैंकको भनाई छ । ‘कहिलेकाहीँ परिचित व्यक्तिको मेसेन्जर, ह्वाट्स एपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोड समेत प्राप्त हुनसक्छ, त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ,’ राष्ट्र बैंकको वित्तीय चेतनामा उल्लेख छ ।
त्यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी,फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको जस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएमा सजग रहन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
‘यस्ता सन्देशहरुमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरु दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि र नोक्सानी पुग्न सक्छ । अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ ।’ राष्ट्र बैंकद्वारा जारी सन्देशमा भनिएको छ ।



About Us
प्रतिक्रिया