आजदेखि सरकारी कार्यालय खुल्दै, दसैं सकेर शहर फर्कनेक्रम बढ्दो

आजदेखि सरकारी कार्यालय खुल्दै, दसैं सकेर शहर फर्कनेक्रम बढ्दो


काठमाडौं – ५ दिनको सार्वजनिक विदा सकेर आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । नेपालीहरुको सबैभन्दा ठूलो चाडका लागि विदा भएका सरकारी कार्यालय आजदेखि खुल्न थालेका हुन् ।

यससँगै काठमाडौं लगायतका शहरी क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । यही असोज २४ गतेदेखि सुरु भएको दसैंका लागि सोही दिनदेखि लागू हुने गरेर विदा सुरु भएको थियो ।

त्यसयताका ५ दिनसम्म अर्थात २८ गतेसम्मका लागि सार्वजनिक विदा थियो । विदा सकेपछि सरकारी कार्यालयले आजदेखि कामकारबाही सुचारु गर्नेछन् । यससँगै दसैं मनाउन गाउँ पुगेकाहरु शहर फर्कनेक्रम बढ्न थालेको छ ।

मानिसहरु काठमाडौं फर्कनेक्रमसँगै सरकारी कार्यालय खुल्न थालेपनि टिका लगाउनेक्रम भने जारी नै छ । टिका लगाउनेक्रम आज, भोली र पर्सिसम्मै रहनेछ । पूर्णिमापछि भने टिका लगाउने क्रम रोकिनेछ ।