काठमाडौं – दसैं अघि निर्माण व्यवसायीहरुको अर्बौ रुपैयाँ बक्यौता भुक्तानीमा सरकार असफल बनेको छ । नेकपा एमाले र माओवादीबिचको सत्ता साझेदारी टुटेर बनेको नयाँ गठबन्धको सरकारले पदभार ग्रहण गरेदेखि नै निर्माण व्यवसायीको भुक्तानीमा जोड दिने बताएको थियो । तर, दसैं अघि निर्माण व्यवसायीको अर्बौ रुपैयाँ भुक्तानीमा सरकार असफल बनेको हो ।
सरकारले आधा खर्ब रुपैयाँभन्दा बढी रकम निर्माण व्यवसायीलाई दिन बाँकी छ । नयाँ सरकार बनेलगत्तै अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीले सुरुमा नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका थिए । तर, उनीहरुको दाबीको विपरित भुक्तानीमा सरकार असफल बनेको हो ।
निर्माण व्यवसायी महासंघका अनुसार सरकारले विभिन्न आयोजनाको ४५ अर्ब रुपैयाँभन्दा बढी रकम दिन बाँकी छ । तर, सरकारको कोषमा पर्याप्त रकम नहुँदा भुक्तानी गर्न सरकारले सकिरहेको छैन । यद्यपी, दसैं अघिसम्ममा भुक्तानी पाउनेमा व्यवसायी विश्वस्त थिए ।
तर, सरकारले दसैं अघि पनि व्यवसायीलाई खाली हाल बनाइदिएको हो । सरकारले निर्माण व्यवसायीको भुक्तानी अड्काउँदा अर्थतन्त्रको चक्र नै प्रभावित बनिरहेको छ । गाउँगाउँमा हुने निर्माणका कार्यबाट उठ्नु पर्ने रकम नउठ्दा ठेकेदारले मजदुरलाई रकम दिन सकेका छैनन् ।
यस्तै निर्माण सामाग्री उत्पादन गर्ने उद्योगको भुक्तानी समेत हुन सकेको छैन भने बजारमा नयाँ माग सृजना नहुँदा आर्थिक वृद्धिमा नै नकरात्मक प्रभाव पर्ने जोखिम बढ्दै गइरहेको छ ।
प्रतिक्रिया