काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालयको नयाँ भवन शिलान्यास भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज कीर्तिपुरमा १० रोपनीभन्दा बढी जग्गामा बन्न लागेको एमालेको नयाँ केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका हुन् ।
अब भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको मैत्रीनगरमा रहेको १० रोपनीभन्दा बढी जग्गामा एमालेको नयाँ केन्द्रीय कार्यालय बन्नेछ । हाल लतिलपुरको च्यासलमा एमालेको केन्द्रीय कार्यालय सञ्चालनमा छ । तर, खोलाको नजिक रहेका कारण यो कार्यालय डुबेको डुब्यै गर्छ ।
‘भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्छ,’ एमालेका महासचिव शंकर पोखरेलले भने । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाए ।
एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए ।
उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।
प्रतिक्रिया