राष्ट्र बैंकले बुझ्यो ‘बैंकिङ्ग डिस्कोर्स २०२४’को प्रतिवेदन


काठमाडौं – बैंकिङ्ग समाचारको आयोजनामा सम्पन्न ‘दोस्रो राष्ट्रिय बैकिङ्ग डिस्कोर्स २०२४’को प्रतिवेदन नेपाल राष्ट्र बैंकले बुझेको छ । बैंकिङ्ग समाचारको आयोजनामा भएको डिस्कोर्सको प्रतिवेदन प्रबन्ध निर्देशक राजु ढुंगेलबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझेका हुन् ।

बैंकिङ्ग समाचारको आयोजनामा ‘दोस्रो राष्ट्रिय बैंकिङ्ग डिस्कोर्स २०२४’ यही वर्ष २०८१ को असार ११ गते सम्पन्न भएको थियो । बैंकिङ्ग समाचारले उक्त डिस्कोर्सबाट निस्केको निष्कर्षलाई प्रतिवेदनकारुपमा तयार पारी राष्ट्र बैंकलाई बुझाएको हो।

बैंकिङ्ग समाचारले प्रत्येक वर्ष देशको बैंकिङ्ग क्षेत्रको समस्या, चुनौती र समाधानका उपायका विषयमा राष्ट्रियस्तरको डिस्कोर्स सञ्चालन गर्दै आइरहेको छ । यसबाट बैंकिङ्ग क्षेत्रको समस्याका साथै भावी कार्यदिशा र दिगो बैंकिङ्गका सम्भावनाको खोजी हुँदै आएको छ ।

केन्द्रीय बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले उद्घाटन गरेको यसपटकको बैंकिङ्ग डिस्कोर्सको सहजकर्ताकारुपमा दिलभुषण पाठक, माइकल सिद्दि, श्री पाण्डे र टिकाराम यात्री थिए । काठमाडौंको ह्यात रेजेन्सीमा सम्पन्न डिसकोर्समा सुरेन्द्र पाण्डे, डा. सुर्यबहादुर थापा लगायत राष्ट्र बैंकका विभिन्न निर्देशक तथा बैंक तथा वित्तीय संस्थाका व्यक्तीत्वहरुको वक्ताकारुपमा उपस्थित थिए ।

यस्तै, कृष्णराम धुँजु, सञ्जिव सुब्बा, निलेशमान सिंह प्रधान, दिवस कुमार सापकोटा, भुवन दाहाल, सन्तोष कोइराला, मनोजकुमार ज्ञवाली, पवन रेग्मी, गुरुप्रसाद पौडेल, चेतन अधिकारी, द्वारिका उप्रेती र सुमन पोखरेल समेत डिस्कोर्सको वक्ताकारुपमा थिए ।

ग्लोबल आईएमई बैंकसँगको मुख्य सहकार्यमा भएको डिस्कोर्समा ५ वटा सेसन थिए। जसमध्ये ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ नामक पहिलो सत्र थियो । यस्तै ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ नामक दोस्रो सत्र, ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ नामक तेस्रो सत्र र ‘नेपालमा डिजिटल इकोसिस्टम र क्रस बोर्डर पेमेन्टका चुनौती’ नामक चौथो सत्र थियो ।

यस्तै, डिसकोर्सको अन्तिम सत्रमा लिंक्डइनका माथिल्लो तहका एचआर एलेन बेबीको इट्स टाइम टु रिथिंक ट्यालेन्ट स्ट्रयाटेजी नामक प्रिजेन्टेसन थियो । डिस्कोर्सको प्रतिवेदन बुझाउँदै बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक ढुंगेलले नेपालको बैंकिङ्ग क्षेत्रको दिगो विकास र स्थायीत्वका लागि यस्ताे प्रकारकाे डिस्कोर्सको याेजना अघि बढाएको बताए ।

यस्तै, प्रतिवेदन बुझ्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसप्रकारका डिस्कोर्सले नेपालको बैंकिङ्ग क्षेत्रको स्थायीत्व, दिगो विकास र भावी कार्यदिशा कोर्न सहयोग पुग्ने बताए । सञ्चार माध्यमको जिम्मेवारी समस्या देखाउनु मात्रै नभएकाले समाधानको उपाय समेत खोजी गर्नु प्रशंसनीय भएको बताए । उनले भावी दिनमा डिस्कोर्सले नेपालको बैंकिङ्ग क्षेत्रको रिसेपमा सहयोग पुग्ने अपेक्षा समेत गरे ।