२ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

२ दिनका लागि ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (असोज २१) गते ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता खिच्ने भएको हो ।

यो २ दिने निक्षेप संकलन उपकरणको असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएकाे छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

असोज लागेसँगै केन्द्रीय बैंकले छैठाै पटक तरलता खिच्न लागेकाे हो । यसअघि बैंकले असोज २ गते २५ अर्ब रुपैयाँ, ६, ९ गते ३० अर्ब, १३, १६ गते ५० अर्ब रुपैयाँ तरलता खिचेको थियो ।