त्रिभुवन विमानस्थलमा २ वटा एटिएम थपिँदै, बोलपत्र आह्वान


काठमाडौं –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन थपिने भएको छ । त्रिभुवन विमानस्थल परिसरमा एटिएम मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले गौचरले बोलपत्र आह्वान गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको कार्यालयका अनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा राष्ट्रिय वाणिज्य बैक नजिकै पूर्वतिर तोकिएको स्थानमा एटिएम मेसिन जडान गरिनेछ ।

प्रत्येक एटिएमको लागी ३.०१ वर्ग मिटर क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा २ वटा फरक फरक बैंकको एटिएम राखिने कार्यालयले जनाएको छ । एटिएम मेसिनको भाडा ५ वर्षका लागि ७६ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।

कार्यालयका अनुसार खुल्ला प्रतिस्पर्धाको माध्यमबाट ५ वर्षको भाडामा दिइने भएकाले इच्छुक बैंकले बोलपत्र दाखिला गर्नुपर्नेछ। बोलपत्र फाराम दस्तुर ३ हजार ३९० रुपैयाँ तोकिएको कार्यालयले जनाएको छ ।