छैटौँ एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै , ५ करोड खर्च हुने अनुमान

छैटौँ एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै , ५ करोड खर्च हुने अनुमान


काठमाडौं – छैठौं एसियाली जनसङ्ख्या सम्मेलन नेपालमा हुने भएको छ। त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आगामी २७–३० नोभेम्बर २०२४ (१२–१५ मंसिर २०८१) मा सम्मेलन काठमाडौंमा हुने भएको हो । सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागले जनाएकाे छ । सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा विषयवस्तुमा आधारित भएर करिब ४०० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।

त्रिवि जनसङ्ख्या केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर योगेन्द्र बहादुर गुरुङले सम्मेलनबाट प्राप्त निष्कर्षले नेपालको जनसाङ्ख्यिक समस्या, पहिचान र सुझावसहितको नीति निर्मातालाई भविष्यको जनसंख्या सम्बन्धी नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने बताए । साथै, नेपालका लागि यो सम्मेलन वर्तमान जनसाङ्ख्यिक सङ्क्रमण र जनसङ्ख्या र विकासमा यसको भावी प्रभाव अन्तर्राष्ट्रिय समुदायलाई अन्वेषण गर्ने र उनीहरूका अनुभवबाट सिक्ने अवसरको रूपमा लिएको गुरुङले औँल्याए।

त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या  अध्ययन केन्द्रीय विभागका सह– प्राध्यापक उद्धव सिग्देलले सम्मेलन नेपालको जनसङ्ख्या र विकासका मुद्दाहरूलाई उठान गर्ने एउटा अवसरको रूपमा रहेको औँल्याएँ । साथै, सम्मेलनले आगामी जनसङ्ख्या नीतिको कार्यदिशा निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सिग्देलले बताए । पत्रकार सम्मेलनमा मिडीया नेटवकिङ्ग कमिटीका संयोजक चेतन अधिकारीले सम्मेलनले जनसाङ्ख्यिक क्षेत्रमा देखिएका चुनौतीहरु समाधानका लागि प्रभावकारी भूमिका खेल्ने बताए ।

नेपाल जनसंख्या संघका अध्यक्ष पद्म प्रसाद खतिवडाले छैठौं एसियाली जनसंख्या सम्मेलन अहिलेको अवस्थामा हुनुलाई हामीले अवसरको रुपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष खतिवडाले सम्मेलनले जनसंख्या व्यवस्थापनमा देखिएका हाल चुनौती समाधान गर्न प्रभावकारी भूमिका खेल्ने विश्वस व्यक्त गरे। चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिए‌को छ । सम्मेलनमा सहभागी हुने हरेक व्यक्तिले दर्ता शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने, दर्ता शुल्क ७ हजार, १० हजार र १३ हजार कायम गरिएको छ ।