‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’

‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’


साना–सान वित्तिय संस्थाहरुलाई गाभ्दै राष्ट्रिय स्तरको विकास बैंकमा नाम दाखिला गरेको साइन रेसुंगा डेभलपमेण्ट बैंक प्रदेश नम्बर–५ आसपासका क्षेत्रमा स्थापित छ । तर, सोही क्षेत्रमा यतीबेला कोरोना संक्रमण बढ्दो छ । अतिआवश्यक मानिने बैकिङ्ग सेवा पूर्णरुपमा प्रभावित बनेको छ । तर, पनि बैंकहरुले कर्मचारीहरुलाई आलोपालो गराउँदै जोखिम मोलेरै सेवा प्रवाह गरिरहेका छन् । यस्तो अवस्थामा बुटवलमा मुख्य कार्यालय भएको साइन रेसुंगा बैंकले आफ्ना ग्राहकहरुलाई कसरी सेवा दिइरहेको छ ? बैंक खुलेको छ या छैन् ? आगामी दिनहरुमा अप्नाइनुपर्ने जोखिमहरु, बैंकका कर्मचरीहरुको स्वास्थ्य अवस्था लगायतका तमाम विषयमा युवा बैंकर एवंम साइन रेसुंगा डेभलपमेण्ट बैंकका  प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसँग बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः 

तपाईकै बैंक भएको क्षेत्र बुटवल यतीबेला कोरोना संक्रमणको उच्च जोखिममा छ । यस्तो अवस्थामा पनि बैंक खोल्नुभएको छ ? 

कारोना भाइरसको महामारिका बेलामा हामीले बैंकहरु सिमित स्थानमा सिमित शाखाहरुमात्रै सञ्चालन गरेका छौँ । यस्तै कपिलवस्तु जिल्लाका थुप्रै स्थानीय तहहरु सिल गरिएका छन् । सो स्थानमा हामीलाई बैंकका शाखा नखोल्न निर्देशन आएको छ । साथै इन्टरनेट बैंकिङ्ग नभएका, एटिएम कार्ड नभएका हकहरुलाई १/२ घण्टा शाखा खोली सेवा दिएको अवस्था छ । त्यो पनि हप्तामा २/३ पटक मात्रै । यो बेला घरबाटै डिजिटल बैकिङ्ग कारोबार गर्दा अत्यान्तै उपयुक्त हुन्छ । हामी र हाम्रा कर्मचारी साथीहरु पनि घरबाटै काम गरेका छन् । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो । आफ्नो स्वास्थ्यको ख्याल गर्ने बेला हो । अरुलाई सहयोग गर्ने बेला हो । 

यो कोरोना भाईरसको महामारिका बेला कर्मचारी साथीहरुको सुरक्षाबारे कति चिन्तित हुनुहुन्छ ? 

हामी कर्मचारी साथीहरुको स्वास्थ्यबाटै अत्यन्तै सचेत र सजक छौं । ती साथीहरुले केही राहतका कार्यक्रम ल्याउने भएका पनि छौं । कर्मचारी साथीहरुको हाम्रा सम्पत्ती हुन् उहाँहरुको सुरक्षा नै हामी बैंकरहरुको पहिलो दायित्व हो । त्यसकारण हामीले माक्स, सेनिटाइजर र पञ्जा प्रयोग लगायत विषयमा अत्यान्तै संवेदनशील बनेका छौं । कर्मचारी कम मात्रामा छन् । ग्राहक अझै कम मात्रामा आएको अवस्था छ । कारोबार सानो भएको छ । यो अवस्था घरबाटै सूचना प्रधिवीबाट डिजिटल बैकिङ्ग मार्फत काम गर्न उचित व्यवस्थापन पनि गरेका छौँ । 

बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । व्यवसायीहरु ऋणको व्याजदर घटाउन माग गरिरहेका छन् । विकास बैंकहरुको व्याजदरको अवस्था के छ ? 

विकास बैंकहरुले पनि व्याजदर घटाएका छन् । व्यक्तिगत मुद्धतिमा ९ प्रतिशत र संस्थागत मुद्धतिमा ८ प्रतिशत व्याज दिने सहमित भएको खबर पनि आएको छ । यसमा हामी पनि माथिबाटै निर्देशित छौँ । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्ने देखिन्छ । 

विकास बैंकहरुले विषेश गरी ग्रामिण क्षेत्रमा व्यवसाय विस्तार गरेको देखिन्थ्यो । तर पछिल्लो समय शहर केन्द्रित हुन थालेका छन । यस्तो किन ? 

 कतिपय अवस्थामा वाणिज्य बैंकहरु र विकास बैंकहरुको कार्यक्षेत्र फरक छ । अहिलेपनि सहरमा भन्दा विकास बैंकहरुको शाखा गाउँगाउँमा नै धेरै छन् । हाम्रै बैंकका शाखाहरुको कुरा गर्ने हो भने गुल्मी, अर्घाखाँची, प्युठान, लगायतका ठाउँहरुमै धेरै छन् । हामी पनि भर्खरै राष्ट्रिस्थरमा जोडीएका छौँ । तर यसमा एउटा मुख्य कुरा के छ भने यतीबेला राष्ट्र बैंकले नै प्रत्येक गाउंपलिकामा बैंका शाखा भन्ने खालको निति ल्याएका कारण ग्रामिण क्षेत्रमा प्रतिशपर्धा बढेको हो भनेर भन्न मिल्छ । सहरी क्षेत्रमा पनि विकास बैंकहरुले राम्रो सेवा दिइरहेका छन् । साइन रेसुंगा डेभलपमेण्ट बैंकले पनि बुटवल भैरहवा लगायतका स्थानहरुमा पनि उचित बैकिङ्ग सेवा प्रधान गरिरहेका छौँ ।

विशेषगरी विकास बैंकहरुले कृषिमा लगानी गरेका हुन्छन् । यस क्षेत्रको लगानीमा कत्तिको जोखिम देख्नुहुन्छ ? 

मेरो विचारमा कृषिलाई कोरोनाले खासै नोक्सान चाँही नगर्ला । हाम्रो बैंकको मुख्य प्रथमिकता पनि कृषि उत्थान नै हो । त्यसैले हामीले पनि कृषिमा धेरै लगानी गरेका छौँ । कृषि क्षेत्रको लगानीमा अरुको क्षेत्रको तुलनामा जोखिम कम रहेको छ । हालसम्म कृषि क्षेत्रलाई उपेक्षा गरिँदै आइएको थियो । यद्यपि, अहिलेको अवस्थाले कृषि क्षेत्रले महत्व बुझाइदिएको छ । अहिले आएर सरकारका साथै निजी क्षेत्रले पनि कृषिलाई महत्व दिन थालेका छन् । नेपालमा कृषिमा बैंकहरुको ठूलो लगानी प्रवाहित छैन । कागजमा लगानी गरेको देखिए तापनि फिल्डमा लगानी कम छ । त्यसमाथि अहिले कृषि क्षेत्रलाई अनुदान, सहुलियत लगायत दिएको छ । त्यसैले, अरु क्षेत्रमा जोखिम बढे तापनि कृषि क्षेत्रको बैकिङ्ग लगानीमा धेरै जोखिम छैन ।

अन्तमा तपाईले आफ्ना आम ग्राहकहरुलाई के भन्न चहानुहुन्छ ? 

यतीबेला विश्व नै अफ्ठ्यारो स्थीतीमा गुज्रिरहेको छ । यस्तो विषम परिस्थितिमा बैंकहरुले सेवा दिनु पनि चुनौतिपूर्ण र जोखिम छ । तर, हामीले केही हदसम्म दिइरहेकै पनि छौँ । यस्तो अवस्थामा पहिलो कुरा त आफू बचौं अरुलाई पनि बचाउने हो । जीवन रहे, सबै कुरा देखिन्छ । त्यसकारण घरभित्रै बसौं । सरकारले गरेको लकडाउन पूर्ण पालना गरौं । मिल्छ भने घरबाटै अफिसको काम गरौं  ।