सेबोनको अध्यक्ष नियुक्तिमा ५ अर्ब भ्रष्टाचार गर्ने आरोपपछि प्रधानमन्त्रीले भने – कुनै लाभ लिनु छैन

सेबोनको अध्यक्ष नियुक्तिमा ५ अर्ब भ्रष्टाचार गर्ने आरोपपछि प्रधानमन्त्रीले भने – कुनै लाभ लिनु छैन


काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँ घोटाला गर्ने आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै पनि आर्थिक लाभ नहुने बताएका छन् । प्रधानमन्त्री ओलीमाथि बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्ब रुपैयाँ आर्थिक घोटाला गर्न लागेको आरोप लाग्दै आएको छ । यही आरोप लागेपछि प्रधानमन्त्री ओलीले नियुक्ति प्रक्रियामा कुनै पनि लाभ नलिने प्रष्टीकरण दिएका हुन् ।

उनले आज सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा आफूले कुनै पनि लाभ लिन नखोजेको बताए । मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा बोर्डमा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको बताएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री ओलीले बोर्डको अध्यक्ष नियुक्त प्रक्रियामा आफूमाथि ५ अर्ब रुपैयाँ भ्रष्टाचार गर्न लागेको आरोप लागेको बताएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रधानमन्त्री ओलीले २०८१ असार १ गते यस्तो बताएका थिए । नेकपा एमालेको अध्यक्षकारुपमा एमाले संसदीय दलको बैठकको सम्बोधनका क्रममा उनले भनेका थिए, ‘बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ ।’